महाधिवेशनबाट रवि लामिछाने नै पार्टी सभापतिः महामन्त्री बुर्लाकोटी

User Image Prime TV News ५९ मिनेट अगाडि
Image of महाधिवेशनबाट रवि लामिछाने नै पार्टी सभापतिः महामन्त्री  बुर्लाकोटी

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी असारमा हुने पहिलो महाधिवेशनको तयारीलाई तीव्र बनाएको छ । पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले महाधिवेशनबाट रवि लामिछाने नै पुनः सभापतिमा निर्वाचित हुने दाबी गरेका छन् ।

आगामी असार ७, ८ र ९ गते चितवन मा हुने महाधिवेशनका लागि विभिन्न तयारी समितिहरू गठनको काम भइरहेको उनले जानकारी दिए । असार ७ गते पार्टी स्थापना दिवससमेत परेकाले सोही अवसर पारेर महाधिवेशन आयोजना गर्न लागिएको रास्वपाले जनाएको छ ।

चितवनलाई महाधिवेशन स्थल चयन गर्नुको कारणबारे बुर्लाकोटीले उक्त जिल्ला पार्टीको ‘इपिसेन्टर’ रहेको बताए । उनले चितवन देशको भौगोलिक केन्द्रका रूपमा समेत उपयुक्त रहेको उल्लेख गर्दै पार्टीले यहाँबाट उल्लेख्य जनमत प्राप्त गरेको स्मरण गरे ।

“चितवन सबै क्षेत्रसँग जोडिएको जिल्ला हो । सभापतिले पनि यहीँबाट निर्वाचन जित्नुभएको छ, त्यसैले महाधिवेशनका लागि उपयुक्त ठानियो,” उनले भने । पार्टी सभापतिमा रवि लामिछाने पुनः दोहोरिने सम्भावनाबारे सोधिएको प्रश्नमा बुर्लाकोटीले 'यसमा कुनै शंका छैन' भन्दै स्पष्ट जवाफ दिए । उनका अनुसार पार्टीभित्र अन्य सक्षम नेताहरू भए पनि अहिलेको आवश्यकता नेतृत्वको प्रतिस्पर्धाभन्दा संगठनलाई एकढिक्का बनाएर अघि बढाउनु हो ।

उनले पार्टीभित्र पदका लागि हानाथापभन्दा देशलाई निकास दिने राजनीतिक उद्देश्य महत्वपूर्ण भएको धारणा राखे । यस्तै, बालेन्द्र शाहको सम्भावित भूमिकाबारे भने पार्टीभित्र कुनै औपचारिक छलफल नभएको बुर्लाकोटीले बताए ।