हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा मागे
Prime TV News ५ घण्टा अगाडि 
काठमाडौ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा माग गरेका छन् । शुक्रबार बिहान विज्ञप्ति जारी गर्दै साम्पाङले प्रधानमन्त्री शाहले संसद् र जनताप्रति आफ्नो जिम्मेवारी पूरा गर्न नसकेको आरोप लगाए । उनले नैतिकताको आधारमा प्रधानमन्त्रीले पद छाड्नुपर्ने बताएका छन् ।
साम्पाङले प्रधानमन्त्री शाह संसद्मा उपस्थित नभएको, नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी नबनेको र उठेका प्रश्नको जवाफ नदिएको आरोप लगाएका छन् । उनले संसद्लाई बेवास्ता गरेर अध्यादेशमार्फत शासन चलाउन खोजिएको पनि बताएका छन् ।
उनका अनुसार प्रधानमन्त्रीले संसद्बाट जनतालाई प्रत्यक्ष सम्बोधन नगर्नु लोकतान्त्रिक अभ्यास विपरीत हो । विज्ञप्तिमा साम्पाङले “जनताको सार्वभौम संसद्लाई अपमान गर्ने नेतृत्व पदमा बसिरहनु उचित नहुने” उल्लेख गरेका छन् । उनले जनताका प्रश्नबाट टाढा रहने प्रवृत्तिले लोकतन्त्रमाथि नै प्रश्न उठाएको बताएका छन् ।








