कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिकको काम जेठ २१ गतेभित्र सक्ने

User Image Prime TV News ३ घण्टा अगाडि
Image of कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिकको काम जेठ २१ गतेभित्र सक्ने

काठमाडौ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिकको काम जेठ २१ गतेभित्र सक्ने निर्णय गरेको छ ।

पार्टीको सदस्यता व्यवस्थापन समितिको बैठकले सदस्यता नवीकरण, वितरण र अद्यावधिकको काम तोकिएको समयभित्र पूरा गर्ने निर्णय गरेको हो । समितिको संयोजक पार्टी महामन्त्री प्रदीप पौडेल हुन् । कांग्रेसले सदस्यता प्रणालीलाई डिजिटल बनाएको जनाएको छ । अब क्रियाशील सदस्यहरूले मोबाइलबाटै अनलाइन फारम भरेर सदस्यता अद्यावधिक गर्न सक्ने व्यवस्था गरिएको छ ।

अनलाइन फारम भर्दा समस्या आए ९७०१२५५५५५ नम्बरमा फोन गरेर सहयोग लिन सकिने पनि पार्टीले जनाएको छ । साथै डिजिटल सहायता केन्द्रबाट पनि सहयोग उपलब्ध गराइने बताइएको छ । विदेशमा रहेका नेपाली जनसम्पर्क समिति सँग सम्बन्धित सदस्यहरूले पनि अनलाइनमार्फत सदस्यता अद्यावधिक गर्न सक्ने व्यवस्था गरिएको कांग्रेसले जनाएको छ ।

पार्टीले समयमै सदस्यता अद्यावधिक नगर्ने व्यक्तिले १५औँ महाधिवेशन प्रक्रियामा भाग लिन नपाउने स्पष्ट पारेको छ । नेपाली कांग्रेसले आगामी असोजमा १५औँ महाधिवेशन गर्ने तयारी गरिरहेको छ ।