फिफा विश्वकपका लागि फ्रान्सले गर्यो २६ सदस्यीय टोलीको घोषणा
Prime TV News एक घण्टा अगाडि 
काठमाडौ । फ्रान्सले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय टोली घोषणा गरेको छ । प्रशिक्षक डिडिएर डेसच्याम्पले अनुभवी र युवा खेलाडीको मिश्रणसहित टोली सार्वजनिक गरेका हुन् । टोलीको नेतृत्व कप्तान किलियन एमबाप्पेले गर्नेछन् । उनीसँगै बालोन डी’ओर विजेता उस्मान डेम्बेले पनि टोलीमा छन् ।
विश्व फुटबल वरीयतामा शीर्ष स्थानमा रहेको फ्रान्स राष्ट्रिय फुटबल टोली यस पटक पनि उपाधिको बलियो दाबेदार मानिएको छ । टोलीको रक्षा पंक्तिमा विलियम सालिबा, जुल्स कुन्डे, इब्राहिमा कोनाते र लुकास हर्नान्डेज रहेका छन् ।
मिडफिल्डमा एन’गोलो कान्टे, ओरेलियन चुआमेनी र एड्रियन राबियो समावेश छन् । त्यस्तै, माइकल ओलिसे, डिजिरे डुए, रायन चेर्की र मार्कस थुराम जस्ता खेलाडीले पनि टोलीमा स्थान पाएका छन् । फ्रान्स समूह ‘आई’मा रहेको छ । उसले जुन १६ मा सेनेगलसँग खेल्दै विश्वकपको यात्रा सुरु गर्नेछ ।







