कक्षा ११ मा भर्ना प्रक्रिया असार १ गतेबाट सुरु हुने
Prime TV News ४ घण्टा अगाडि 
काठमाडौ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएसँगै कक्षा ११ मा भर्ना प्रक्रिया असार १ गतेबाट सुरु हुने भएको छ । यस वर्ष नतिजा छिटो प्रकाशित भएकाले भर्ना पनि समयमै सुरु हुने भएको हो ।
कतिपय विद्यालयहरूले एसईई नतिजा आएको भोलिपल्टदेखि नै अनलाइन र भौतिक दुवै माध्यमबाट आवेदन लिन थालिसकेका छन् । साथै काठमाडौं महानगरपालिका ले छात्रवृत्तिका लागि अनलाइन फाराम खुला गरिसकेको छ । तर, अहिले अघिल्लो शैक्षिक सत्रको कक्षा ११ को पढाइ र परीक्षा नसकिएकाले एउटै विद्यालयमा दुई ब्याच सञ्चालन गर्नुपर्ने अवस्था आएको छ ।
यसले विद्यार्थी र अभिभावकहरूमा केही अन्योल देखिएको छ । विद्यार्थीहरूले पुरानो कक्षाको परीक्षा, नयाँ भर्ना प्रक्रिया र छात्रवृत्ति आवेदन एकैसाथ गर्नुपर्ने भएकाले व्यवस्थापन चुनौतीपूर्ण बनेको छ । यद्यपि सरोकारवालाहरूले यसपटक भर्ना प्रक्रिया सहज हुने दाबी गरेका छन् ।
उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) का पूर्व महासचिव लोकबहादुर भण्डारीले सरकारको व्यवस्थापन पहिलेभन्दा राम्रो भएकाले अन्योल नहुने बताएका छन् । त्यस्तै, निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) का अध्यक्ष कृष्ण अधिकारीले असारको पहिलो सातादेखि नै कक्षा ११ को पढाइ सुरु गर्ने तयारी भइरहेको जानकारी दिएका छन् ।
शिक्षा मन्त्रालयले शैक्षिक सत्र ढिलो नहोस् भन्ने उद्देश्यले असार १ गतेदेखि नै भर्ना अभियान सुरु गर्ने तयारी गरेको छ । मन्त्रालयले यसको औपचारिक निर्णय छिट्टै सार्वजनिक गर्ने जनाएको छ ।







