नेपाल महिला क्रिकेट टोली मलेसियासँग पहिलो टी–२० खेलमा ३ रनले पराजित


काठमाडौ । मलेसियासँगको पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा नेपाल महिला राष्ट्रिय क्रिकेट टोली ३ रनले पराजित भएको छ।
वायुमास ओभलमा बिहीबार सम्पन्न खेलमा १०५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले २० ओभरमा ७ विकेट गुमाएर १०१ रन मात्र बनाउन सक्यो।
अन्तिम ओभरमा ७ रन आवश्यक परेको अवस्थामा पनि नेपालले मात्र ३ रन जोड्न सक्यो। कविता जोशी र राजमती ऐरी क्रिजमा रहे पनि जितसम्म पुग्न असफल भए।
नेपालका लागि पूजा महतोले सर्वाधिक ३० रनको योगदान दिइन्। सम्झना खड्काले १८ रन, कप्तान इन्दु बर्माले १२ रन र कविता जोशीले अविजित १३ रन बनाइन्। तर मध्यम र तल्लो क्रमले अपेक्षाअनुसार प्रदर्शन गर्न नसक्दा जित हातबाट फिस्किएको हो।
मलेसियाका लागि नुर दानिया स्यादाले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा मात्र १० रन दिएर ३ विकेट लिइन्। कप्तान विनिफ्रेड दुरासिंघम र आइसा एलिसाले समान २–२ विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १०४ रन बनायो। कप्तान विनिफ्रेड दुरासिंघमले २७ रन, अइना हमिजाले २६ रन र मास एलिसाले २५ रनको योगदान दिइन्।
नेपालका सोमु विष्टले २ विकेट तथा रुबिना क्षेत्रीले १ विकेट लिइन्। पाँच खेलको शृंखलाअन्तर्गत अब दोस्रो खेल शनिबार हुनेछ। पहिलो खेलको हारपछि नेपाल शृंखलामा फर्कन आगामी खेलमा जित निकाल्ने दबाबमा हुनेछ।