विद्यार्थी संगठनको प्रतिबन्धविरुद्ध काठमाडौंमा मार्चपास

User Image Prime TV News एक घण्टा अगाडि
Image of विद्यार्थी संगठनको प्रतिबन्धविरुद्ध काठमाडौंमा मार्चपास

काठमाडौ । काठमाडौंमा विद्यार्थी दिवसको अवसरमा संयुक्त विद्यार्थी संगठनहरूले शुक्रबार मार्च पास निकालेका छन्। उनीहरूले “प्रतिबन्धविरुद्ध प्रतिरोध गरौँ” भन्ने नारासहित प्रदर्शन गरेका हुन्।

मार्च पास  त्रिचन्द्र क्याम्पस देखि रत्न राज्य लक्ष्मी क्याम्पस सम्म भएको थियो। सहभागी विद्यार्थीहरूले विश्वविद्यालयको स्वायत्तता, अभिव्यक्ति स्वतन्त्रता र विद्यार्थी अधिकारको पक्षमा आवाज उठाएका थिए। प्रदर्शनका क्रममा विद्यार्थीहरूले विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेका थिए।

“इनफ इज इनफ”, “विश्वविद्यालयको स्वायत्तता सुनिश्चित गर”, “गरिबको चमेली बोल्दिने कोही छैन” र “प्रधानमन्त्री नशा, देश दशामा” जस्ता नारा उनीहरूले प्रदर्शन गरेका थिए। विद्यार्थी संगठनहरूले विश्वविद्यालयभित्र विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने सरकारको तयारीप्रति असन्तुष्टि जनाउँदै विरोध प्रदर्शन गरिएको बताएका छन्।

उनीहरूले यस्तो कदमले लोकतान्त्रिक अभ्यास कमजोर बनाउने र शैक्षिक स्वतन्त्रतामा असर पर्ने बताएका छन्। यो प्रदर्शनलाई विद्यार्थी दिवसको अवसरमा गरिएको सांकेतिक विरोधका रूपमा हेरिएको छ, जसमा विद्यार्थी अधिकार र स्वतन्त्र राजनीतिक अभ्यासको माग उठाइएको छ।