राखेपले फुकुवा गर्यो एन्फामाथिको निलम्बन
Prime TV News ५ घण्टा अगाडि 
काठमाडौ । राष्ट्रिय खेलकुद परिषद्ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि लगाएको निलम्बन फुकुवा गरेको छ। शुक्रबार शिक्षा तथा खेलकुद मन्त्रालयमा भएको छलफलपछि निलम्बन हटाइएको हो।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र एन्फा पदाधिकारीबीचको छलफलपछि निलम्बन फुकुवा गरेको एन्फा प्रवक्ता सुरेश शाहले बताए । उनका अनुसार लामो छलफलपछि मन्त्री पोखरेलले बिनासर्त निलम्बन फुकुवा गर्दै नेपाली फुटबलको विकासमा सबै पक्ष मिलेर काम गर्नुपर्ने बताएका छन्।
साथै फुटबल गतिविधि फिफाको नियमअनुसार सञ्चालन गर्न आग्रह गरिएको छ। बैठकमा रामचरित्र मेहता, मन्त्रीका खेलकुद सल्लाहकार सिद्धि व्यञ्जनकार, एन्फा महासचिव किरण राई, कोषाध्यक्ष रवीन्द्र जोशी उपस्थित थिए ।
राखेपले गत चैत ११ गते एन्फाले अर्ली इलेक्सन गर्न खोजेको तथा देशको कानुन पालना नगरेको आरोप लगाउँदै तीन महिनाका लागि निलम्बन गरेको थियो। त्यसपछि राखेप, एन्फा र फिफा प्रतिनिधिबीच निरन्तर छलफल हुँदै आएको थियो।







