संविधान संशोधन बहसमा सहभागी हुन जेनजीलाई कार्यदलको आह्वान

User Image Prime TV News ४ घण्टा अगाडि
Image of संविधान संशोधन बहसमा सहभागी हुन जेनजीलाई कार्यदलको आह्वान

काठमाडौ । संविधान संशोधनका लागि बहसपत्र तयार गरिरहेको कार्यदलले जेनजी प्रतिनिधिहरूलाई सकारात्मक संवादमा सहभागी हुन आग्रह गरेको छ। कार्यदलले संविधान संशोधनसम्बन्धी सुझाव संकलन गर्ने उद्देश्यले आज साँझ ५ बजे छलफल आयोजना गरेको जनाएको छ।

कार्यदलका संयोजक अशिम शाहले सबै सरोकारवालाको सुझाव समेटेर बहसपत्रलाई पूर्णता दिनु नै मुख्य उद्देश्य रहेको बताए। उनका अनुसार जेनजीहरूको सहभागितालाई पनि संविधान संशोधन प्रक्रियाको महत्त्वपूर्ण हिस्सा मानिएको छ।

हाल केही जेनजी प्रतिनिधिहरूले अघिल्लो सरकारसँग भएका सहमतिका विषयलाई लिएर असन्तुष्टि जनाउँदै छलफल बहिष्कार गर्ने संकेत गरेका थिए। त्यसबारे स्पष्ट पार्दै संयोजक शाहले अघिल्लो सहमतिहरू कार्यान्वयनकै चरणमा रहेको र जेन–जी परिषद् गठन प्रक्रिया अन्तिम अवस्थामा पुगेको जानकारी दिए।

उनले संविधान संशोधनका लागि आयोजना गरिएको छलफललाई अन्य राजनीतिक विषयसँग नजोड्न आग्रह गरेका छन्। कार्यदलले मौखिक र लिखित दुवै माध्यमबाट सुझाव लिने व्यवस्था गरिएको जनाएको छ।

छलफलमा बोल्नका लागि कम समय दिइएको भन्ने प्रचारप्रति पनि कार्यदलले प्रतिक्रिया दिएको छ। संयोजक शाहले कसैको आवाजलाई बेवास्ता नगरिने र सबै सुझावलाई समान रूपमा महत्व दिइने बताएका छन्।

कार्यदलले गत चैत २५ गतेदेखि विभिन्न क्षेत्रका सरोकारवालासँग परामर्श गर्दै आएको छ। यसअघि संविधानविद्, पूर्वप्रशासक तथा सञ्चार क्षेत्रका विज्ञहरूसँग छलफल गरिसकिएको छ भने आगामी दिनमा अन्य समूहसँग पनि संवाद गरिने बताइएको छ।

सरकारको १०० बुँदे कार्यसूचीअनुसार शासकीय स्वरूप, निर्वाचन प्रणाली र संघीयताजस्ता विषयमा साझा धारणा निर्माण गर्ने उद्देश्यले यो प्रक्रिया अघि बढाइएको कार्यदलले जनाएको छ।