चिकित्सा शिक्षा आयोगमा अन्तरिम नेतृत्व राख्न डा. गोविन्द केसीको माग
Prime TV News एक घण्टा अगाडि 
काठमाडौ । शिक्षा र स्वास्थ्य सुधारका अभियन्ता डा गोबिन्द केसीले चिकित्सा शिक्षा आयोगमामा तत्काल अन्तरिम नेतृत्वको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। शुक्रबार विज्ञप्ति जारी गर्दै डा. केसीले पर्याप्त तयारीविना ल्याइएको अध्यादेशका कारण आयोगका पदाधिकारी पदमुक्त हुँदा कामकाज प्रभावित भएको बताएका हुन्।
उनका अनुसार उपाध्यक्षसहित निर्देशकहरू हटाइएपछि आयोग लामो समयदेखि नेतृत्वविहीन बनेको छ, जसले नियमित तथा महत्वपूर्ण काममा बाधा पुगेको छ। डा. केसीले आयोगमा दक्ष र अनुभवी व्यक्तिहरू हटाइनु गलत भएको बताएका छन्। उनले नयाँ पदाधिकारी नियुक्त नहुँदासम्म संस्थापक पदाधिकारीमध्येबाट कसैलाई अन्तरिम रूपमा नेतृत्व दिनुपर्ने माग गरेका छन्।
सरकारले आयोगलाई कर्मचारीमार्फत चलाउने प्रयास गरेको भन्दै उनले त्यसप्रति असन्तुष्टि जनाएका छन्। आयोगमा योग्य, निष्पक्ष र स्वार्थ नबाझिने व्यक्तिहरू नियुक्त गर्नुपर्ने उनको भनाइ छ। उनले निष्पक्ष नियुक्ति नभए सत्याग्रहसहित आन्दोलन गर्ने चेतावनी पनि दिएका छन्।
यसैबीच डा. केसीले नेपालगञ्जकी निर्मणल कुर्मीको हत्यामा संलगन भनिएका व्यक्तिलाई तत्काल कानुनी दायरामा ल्याउन पनि माग गरेका छन्। साथै शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारका लागि विगतमा भएका सहमति कार्यान्वयन गर्न सरकारलाई आग्रह गरेका छन्।







