मुलुकको बेरुजु ७ खर्ब ३३ अर्ब नाघ्यो
Prime TV News एक घण्टा अगाडि 
काठमाडौ । मुलुकको बेरुजुको रकम ७ खर्ब ३३ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ। महालेखापरीक्षकको कार्यालयले शुक्रबार सार्वजनिक गरेको ६२औँ लेखा परीक्षण प्रतिवेदनअनुसार सार्वजनिक गरेको ६२औँ लेखा परीक्षण प्रतिवेदनमा यो तथ्य सार्वजनिक गरिएको हो।
प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८०/८१ सम्म फर्छ्योट गर्न बाँकी बेरुजु ७ खर्ब ३३ अर्ब १९ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षसम्म यो रकम ६ खर्ब ६९ अर्ब ८६ करोड रुपैयाँ थियो। यो वर्ष मात्र १४ अर्ब ४८ करोड रुपैयाँ बेरुजु असुल भएको प्रतिवेदनमा उल्लेख छ।
महालेखाका अनुसार कारबाही गरी टुंगो लगाउनुपर्ने बेरुजु ५ खर्ब ५१ अर्ब रुपैयाँभन्दा बढी छ। यसमा राजस्व बक्यौता, वैदेशिक अनुदान र ऋण, तथा भाखा नाघेको ऋणको साँवा–ब्याज लगायतका रकम समावेश छन्।
प्रतिवेदनले संघीय, प्रदेश र स्थानीय तहसहित विभिन्न निकायको कुल ९४ खर्बभन्दा बढी रकमको लेखापरीक्षण गरेको जनाएको छ। त्यसबाट ९१ अर्ब ६० करोड रुपैयाँ बराबरको बेरुजु देखिएको छ। क्षेत्रगत रूपमा हेर्दा संघीय निकायमा १.५४ प्रतिशत, प्रदेशमा १.३६ प्रतिशत र स्थानीय तहमा २.२६ प्रतिशत बेरुजु देखिएको छ। स्थानीय तहमा बेरुजुको दर अन्यभन्दा बढी देखिएको छ।
प्रतिवेदनले सार्वजनिक खर्च र लेखा व्यवस्थापनमा अझ सुधार आवश्यक रहेको संकेत गरेको छ।






