इरानबारे ट्रम्पको नयाँ संकेत, २० वर्ष परमाणु कार्यक्रम रोकिए स्वीकार्य हुने

User Image Prime TV News ४४ मिनेट अगाडि
Image of इरानबारे ट्रम्पको नयाँ संकेत, २० वर्ष परमाणु कार्यक्रम रोकिए स्वीकार्य हुने

काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आफ्नो परमाणु कार्यक्रम २० वर्षका लागि रोक्न तयार भए त्यसलाई स्वीकार गर्न सकिने बताएका छन् ।

ट्रम्पको यो भनाइलाई इरानको परमाणु कार्यक्रम पूर्ण रूपमा अन्त्य हुनुपर्ने उनको पुरानो अडानबाट केही नरम भएको संकेतका रूपमा हेरिएको छ ।

चिनियाँ राष्ट्रपति  राष्ट्रपति सी चिनफिङसँग बेइजिङमा भेटवार्ता गरेपछि पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले अमेरिका र चीन दुवै इरानलाई आणविक हतियार बनाउन दिन नहुने विषयमा सहमत रहेको बताएका थिए ।

उनले इरानले बन्द गरेको होर्मुज जलमार्ग पुनः खोलिनुपर्ने पनि बताएका छन् । उक्त जलमार्ग अवरुद्ध भएपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढिरहेको छ ।

पत्रकारहरूले २० वर्षको समय पर्याप्त हुन्छ कि हुँदैन भन्ने प्रश्न गर्दा ट्रम्पले “यदि ग्यारेन्टी बलियो हुन्छ भने २० वर्ष पर्याप्त हुन्छ” भन्ने प्रतिक्रिया दिएका थिए ।

यसअघि ट्रम्पले इरानलाई युरेनियम प्रवर्द्धन स्थायी रूपमा बन्द गर्नुपर्ने अडान राख्दै आएका थिए । तर पछिल्ला वार्तामा ठूलो प्रगति नभएपछि उनले आफ्नो धारणा केही नरम बनाएको विश्लेषण भइरहेको छ ।

यसै वर्ष फेब्रुअरीमा अमेरिका र इजरायलले इरानमाथि संयुक्त हवाई हमला गरेका थिए । त्यसपछि युद्धविराम लागू भए पनि पूर्ण रूपमा शान्ति स्थापना हुन सकेको छैन ।

इरानले युद्ध अन्त्यका लागि अमेरिकी नाकाबन्दी हटाउनुपर्ने, युद्ध तुरुन्त रोक्नुपर्ने र भविष्यमा आक्रमण नहुने ग्यारेन्टी माग गरेको बताइएको छ ।