यूएई पुगे मोदी, पश्चिम एसियामा शान्तिका लागि भारत तयार
Prime TV News एक घण्टा अगाडि 
काठमाडौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पश्चिम एसियामा शान्ति कायम गर्न भारतले आवश्यक सहयोग गर्न तयार रहेको बताएका छन् ।
यूएई भ्रमणका क्रममा उनले यूएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानसँगको भेटवार्ता गरेका हुन् । भेटका क्रममा मोदीले यूएईमाथि भएका आक्रमणको निन्दा गर्दै अहिलेको तनावपूर्ण अवस्थालाई यूएईले संयमताका साथ सामना गरेको बताएका छन् ।
उनले होर्मुज जलमार्ग सुरक्षित रूपमा सञ्चालन हुनुपर्नेमा पनि जोड दिएका छन् । भारतको विदेश मन्त्रालयका अनुसार दुवै नेताबीच क्षेत्रीय सुरक्षा, रक्षा सहकार्य, ऊर्जा आपूर्ति र आर्थिक साझेदारीका विषयमा छलफल भएको थियो ।
भ्रमणका क्रममा भारत र यूएईबीच रक्षा सहकार्यसम्बन्धी महत्वपूर्ण सम्झौता पनि भएको छ । यसअन्तर्गत दुवै देशले रक्षा प्रविधि, साइबर सुरक्षा, गुप्तचर सूचना आदानप्रदान र आतंकवादविरुद्धको सहकार्य बढाउने भएका छन् ।
त्यस्तै, ऊर्जा सुरक्षासम्बन्धी पनि विभिन्न सहमति भएका छन् । भारत र यूएईले पेट्रोलियम भण्डारण, एलपीजी र एलएनजी आपूर्तिमा सहकार्य विस्तार गर्ने समझदारी गरेका छन् ।
यूएईका संस्थाहरूले भारतमा पाँच अर्ब डलर लगानी गर्ने घोषणा पनि गरेका छन् । यो लगानी बैंकिङ, पूर्वाधार र अन्य क्षेत्रमा हुने बताइएको छ । मोदीको स्वागतका लागि यूएईका राष्ट्रपति स्वयं विमानस्थल पुगेका थिए । साथै उनको विमानलाई यूएईका सैन्य विमानहरूले विशेष सुरक्षा दिएका थिए ।







