जेनजी आन्दोलनका माग पूरा गर्न सरकार प्रतिबद्ध छ : असिम शाह
Prime TV News ४७ मिनेट अगाडि 
काठमाडौ । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलका संयोजक असिम शाहले जेनजी आन्दोलनका घाइते र शहीद परिवारसँग भएका पुराना सम्झौता कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
संविधान संशोधनसम्बन्धी सुझाव संकलन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित छलफलका क्रममा उनले यस्तो बताएका हुन् ।
छलफलमा सहभागी जेनजी आन्दोलनका प्रतिनिधिहरूले विगतको सरकारसँग भएका सम्झौता अझै पूर्ण रूपमा कार्यान्वयन नभएको भन्दै गुनासो गरेका थिए । उनीहरूले आफ्ना माग पूरा गराउन सरकारलाई सक्रिय भूमिका खेल्न आग्रह गरेका थिए ।
जवाफमा शाहले वर्तमान सरकार जेनजी आन्दोलनकै जगमा बनेको दाबी गर्दै आन्दोलनका भावना र बलिदानलाई सरकारले नबिर्सिएको बताए । उनले “यो सरकार तपाईँहरूकै सरकार हो” भन्दै सुशासन र भ्रष्टाचारविरुद्ध सरकारले ‘शून्य सहनशीलता’ को नीति अपनाएको उल्लेख गरे ।
शाहले सरकार र आन्दोलनका घाइते तथा शहीद परिवारबीच केही दूरी बढेको स्वीकार गर्दै अब माग पूरा गर्न पीडितहरूले बारम्बार धाउन नपर्ने दाबी गरे ।
कार्यदलका सदस्य सचिव तथा प्रधानमन्त्री कार्यालयका सहसचिव लिलाधर सुवेदीले पनि सरकार जेनजी आन्दोलनका माग सम्बोधन गर्न सकारात्मक रहेको बताएका थिए ।
छलफलको अन्त्यमा शाहले संविधान संशोधनका लागि बहसपत्र तयार भइरहेको जानकारी दिँदै यस प्रक्रियामा सबै जेनजी युवालाई सहभागी हुन आह्वान गरे ।







