देशका विभिन्न क्षेत्रमा वर्षा, चट्याङ र हावाहुरीको सम्भावना

User Image Prime TV News २ घण्टा अगाडि
Image of देशका विभिन्न क्षेत्रमा वर्षा, चट्याङ र हावाहुरीको सम्भावना

काठमाडौ । नेपालमा अहिले पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदली रहेको छ भने अन्य प्रदेशमा आंशिक बदली देखिएको छ ।

अहिले गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी र कोशी प्रदेशका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदली रहने मौसमविद्ले बताएका छन् । अन्य हिमाली, पहाडी र तराई क्षेत्रमा भने आंशिक बदली रहने अनुमान गरिएको छ ।

कोशी प्रदेशका केही स्थानमा तथा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन, चट्याङसहित वर्षा र हिमपात हुन सक्ने सम्भावना रहेको छ ।

त्यस्तै, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हावाहुरी चल्न सक्ने भएकाले सतर्क रहन महाशाखाले आग्रह गरेको छ । आज राति पनि कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा बदली रहनेछ ।

कोशी प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका एक–दुई ठाउँमा रातिको समयमा पनि चट्याङसहित वर्षा हुन सक्ने अनुमान गरिएको छ । मधेश र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा राति हावाहुरीको सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन मौसमविद्ले सुझाव दिएका छन् ।