अमेरिकामाथि नेपालको शानदार जित, कुशल भुर्तेल चम्किए
Prime TV News ३ दिन अगाडि 
काठमाडौ । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत अमेरिकालाई ९ विकेटले हराउँदै महत्वपूर्ण जित निकालेको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको खेलमा नेपालका ओपनर कुसल भुर्तेलले शानदार शतक प्रहार गर्दै टोलीलाई सहज जित दिलाए ।
अमेरिकाले दिएको १९६ रनको लक्ष्य नेपालले एक विकेट मात्र गुमाएर पूरा गरेको हो । कुशलले आक्रामक ब्याटिङ गर्दै शतकीय इनिङ्स खेलेपछि घरेलु टोलीले खेल एकतर्फी बनाएको थियो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अमेरिका ४३.३ ओभरमा १९५ रनमै समेटिएको थियो । अमेरिकाले राम्रो सुरुआत गरे पनि अन्तिमतिर लगातार विकेट गुमाउँदा ठूलो स्कोर बनाउन सकेन । अमेरिकाका लागिस्मित पटेल र सेहन जयसूर्याले अर्धशतकीय पारी खेले । अमेरिकालाई सस्तैमा समेट्ने क्रममा दीपेन्द्र सिंह ऐरीले चार र सोमपाल कामीले दुई विकेट लिए । साथै सन्दीप लामिछाने र गुलशन झाले एक–एक विकेट लिए । यसअघि भएका दुई खेलमा स्कटल्यान्ड विजयी भएको थियो । अमेरिकामाथिको जितसँगै नेपालले प्रतियोगितामा पुनरागमन गर्ने संकेत दिएको छ ।







