वडा सचिवलाई धम्की दिने युवक काठमाडौबाट पक्राउ
Prime TV News ३ दिन अगाडि 
काठमाडौ । दैलेखको दुल्लु नगरपालिका–१३ का वडा सचिव कमल भण्डारीलाई फोन गरेर धम्की दिने युवक पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ घर भएका २२ वर्षीय प्रकाश खड्कालाई नियन्त्रणमा लिएको हो ।
उनी काठमाडौँको शंखमुल क्षेत्रमा बस्दै आएका थिए । प्रहरीका अनुसार खड्काले प्रधानमन्त्री कार्यालयको नाम लिएर वडा सचिव भण्डारीलाई फोनमार्फत धम्की दिएका थिए ।
उक्त फोन संवादको अडियो सामाजिक सञ्जालमा भाइरल भएपछि घटना सार्वजनिक भएको थियो । घटना बाहिरिएपछि प्रधानमन्त्री कार्यालयले सुरक्षा निकायलाई तत्काल अनुसन्धान गरेर कारबाही गर्न निर्देशन दिएको थियो ।
हाल पक्राउ परेका युवकलाई प्रहरीले नियन्त्रणमा राखेर थप अनुसन्धान गरिरहेको जनाएको छ ।







