पश्चिमी वायुको प्रभावः देशका विभिन्न क्षेत्रमा वर्षा र हावाहुरीको सम्भावना

User Image Prime TV News २ दिन अगाडि
Image of पश्चिमी वायुको प्रभावः देशका विभिन्न क्षेत्रमा वर्षा र हावाहुरीको सम्भावना

काठमाडौ । हाल देशभर पश्चिमी वायु र स्थानीय वायुको प्रभाव देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले गण्डकी, बागमती र कोशी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ।

महाशाखाले आज दिउँसो कोशी प्रदेशसहित बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि आंशिक बदली रहने जनाएको छ। कोशी प्रदेशका केही स्थान तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली क्षेत्रमा हिमपातसमेत हुन सक्ने बताइएको छ।

यस्तै, मधेस प्रदेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभाग तथा कोशी प्रदेशको तराई क्षेत्रमा पनि एक–दुई स्थानमा वर्षा हुन सक्ने अनुमान गरिएको छ। मधेस र कोशी प्रदेशको तराई क्षेत्रमा हावाहुरी चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार सुदूरपश्चिम र लुम्बिनी प्रदेशका केही क्षेत्रमा तापक्रम बढ्न सक्ने देखिएको छ। अत्यधिक गर्मीले जनजीवन प्रभावित हुन सक्ने भएकाले सतर्क रहन आग्रह गरिएको छ।

आज राति भने कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहनेछ। कर्णाली प्रदेशको हिमाली क्षेत्र र मधेस प्रदेशमा आंशिक बदली रहने अनुमान छ भने बाँकी पहाडी तथा तराई भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

रातिको समयमा पनि कोशी प्रदेशका थोरै स्थान तथा बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। तराईका केही स्थानमा हावाहुरी चल्न सक्ने चेतावनी पनि दिइएको छ।