मदन–आश्रित स्मृति दिवसमा एमालेले देशभर कार्यक्रम गर्दै
Prime TV News २ दिन अगाडि 
काठमाडौ ।नेकपा एमालेले जननेता मदनकुमार भण्डारी र नेता जीवराज आश्रितको ३३औँ स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाउँदै छ।
स्मृति दिवसको अवसरमा काठमाडौंको मदननगर बल्खुमा विशेष स्मृति सभा आयोजना गरिएको छ भने गोठाटारस्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा विचार गोष्ठी कार्यक्रम हुँदै छ।
एमालेका अनुसार देशका विभिन्न जिल्लामा मदन–आश्रितको राजनीतिक योगदान र विचारबारे छलफल, वृक्षारोपण, रक्तदान, स्वास्थ्य शिविर तथा अस्पतालमा बिरामीलाई फलफूल वितरणलगायत सामाजिक कार्यक्रम सञ्चालन भइरहेका छन्।
वि.सं. २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको सवारी दुर्घटनामा भण्डारी र आश्रितको निधन भएको थियो। उक्त घटनापछि नेपाली राजनीतिमा ठूलो तरंग पैदा भएको थियो।
मदनकुमार भण्डारीलाई एमालेले ‘जनताको बहुदलीय जनवाद’ का सिद्धान्तकारका रूपमा मान्दै आएको छ। पार्टीले हरेक वर्ष जेठ ३ गतेलाई मदन–आश्रित स्मृति दिवसका रूपमा मनाउने गरेको छ।







