ताइवानको घोषणा पछि चीन–अमेरिका तनाव फेरि चर्किने संकेत

User Image Prime TV News २ दिन अगाडि
Image of ताइवानको घोषणा पछि चीन–अमेरिका तनाव फेरि चर्किने संकेत

काठमाडौ । ताइवानले आफूलाई ‘सार्वभौम र स्वतन्त्र लोकतान्त्रिक राष्ट्र’ घोषणा गरेपछि चीन–अमेरिका सम्बन्धमा फेरि तनाव बढ्ने संकेत देखिएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ताइवानलाई औपचारिक स्वतन्त्रताको घोषणा नगर्न चेतावनी दिएको केही समयपछि ताइवानले यस्तो धारणा सार्वजनिक गरेको हो।

ताइवान विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा ताइवान चीनको अधीनमा नरहेको स्पष्ट पारेको छ। मन्त्रालयले अमेरिकाबाट प्राप्त हतियार सहयोगलाई ताइवानको सुरक्षाप्रतिको प्रतिबद्धताको हिस्सा भएको जनाएको छ।

यसअघि चीन भ्रमणपछि फर्किएका डोनाल्ड ट्रम्पलाई चिनियाँ राष्ट्रपति सी चिनफिङले ताइवानको पक्षमा कुनै कदम नचाल्न आग्रह गरेका थिए। त्यसपछि ट्रम्पले सार्वजनिक रूपमा ताइवानले स्वतन्त्रताको औपचारिक घोषणा नगर्नुपर्ने बताएका थिए।

फक्स न्यूजसँगको अन्तर्वार्तामा ट्रम्पले अमेरिका युद्धको स्थितिमा जान नचाहेको बताएका थिए। उनले ताइवान र चीन दुवैलाई शान्त रहन आग्रह गर्दै क्षेत्रीय तनाव कम गर्नुपर्ने धारणा राखेका थिए।

चीनले लामो समयदेखि ताइवानलाई आफ्नो अभिन्न भूभाग दाबी गर्दै आएको छ। बेइजिङले आवश्यक परे बल प्रयोग गरेर पनि ताइवानलाई आफ्नो नियन्त्रणमा ल्याउने चेतावनी पटक–पटक दिँदै आएको छ। यही कारण ताइवान आफ्नो सुरक्षाका लागि अमेरिकामाथि निर्भर रहँदै आएको छ।

अमेरिकाले औपचारिक रूपमा केवल चीन सरकारलाई मान्यता दिए पनि अमेरिकी कानुनअनुसार ताइवानलाई आत्मरक्षाका लागि हतियार उपलब्ध गराउँदै आएको छ। तर, युद्धको अवस्था आए अमेरिकी सेना प्रत्यक्ष संलग्न हुन्छ कि हुँदैन भन्ने विषय अझै अस्पष्ट छ।

यसबीच ताइवानको संसद्ले हालै २५ अर्ब डलरको रक्षा बजेट स्वीकृत गरेको छ। उक्त बजेट अमेरिकी हतियार खरिदमा खर्च गरिने बताइएको छ। यसले चीनलाई थप आक्रामक बनाउने सम्भावना रहेको विश्लेषण गरिएको छ।