रास्वपाको आज देशभर वडा अधिवेशन, महाधिवेशनको तयारी तीव्र

User Image Prime TV News २ दिन अगाडि
Image of रास्वपाको आज देशभर वडा अधिवेशन, महाधिवेशनको तयारी तीव्र

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीले आज देशभर वडा अधिवेशन गर्दैछ। पार्टीले गत वैशाख २० गतेअघि तदर्थ समिति गठन भएका करिब १५ सय वडामा एकसाथ अधिवेशन गर्न लागेको हो।

पार्टीका संगठन विभाग सचिव शंकर श्रेष्ठका अनुसार हालसम्म करिब ३ हजार वडामा तदर्थ समिति गठन भइसकेको छ। तीमध्ये झण्डै आधा वडाको अधिवेशन सम्पन्न भइसकेको र बाँकी वडाको अधिवेशन आज हुन लागेको उनले जानकारी दिए।

राष्ट्रिय स्वतन्त्र पार्टीले वडा अधिवेशन दुई चरणमा सम्पन्न गर्ने निर्णय गरेको छ। जेठ ३ गतेअघि तदर्थ समिति गठन भएका वडाको अधिवेशन भने जेठ १६ गते गरिने कार्यतालिका तय गरिएको छ।

यस्तै, पालिका अधिवेशन पनि दुई चरणमा गर्ने निर्णय गरिएको छ। पार्टीका अनुसार जेठ ९ र १७ गते पालिका अधिवेशन हुनेछ।

रास्वपाले संगठन विस्तारलाई तीव्र बनाउँदै जिल्ला र प्रदेश अधिवेशनको तयारी पनि अघि बढाएको छ। पार्टीले जेठ २३ र २४ गते जिल्ला अधिवेशन गर्ने तथा जेठ २६ गतेदेखि असार १ गतेसम्म प्रदेश अधिवेशन सम्पन्न गर्ने योजना बनाएको छ।

पार्टीले कुनै पालिकाका ३० प्रतिशत वडा अधिवेशन सम्पन्न भएमा माथिल्लो तहको अधिवेशन नरोक्ने निर्णयसमेत गरेको जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम केन्द्रीय महाधिवेशन आगामी असार ७ देखि ९ गतेसम्म चितवनमा हुने तय गरिएको छ।

पार्टी स्थापना भएको ठीक चार वर्ष पुगेकै अवसरमा पहिलो महाधिवेशन आयोजना गर्न लागिएको हो।