मदन भण्डारीको राजनीतिक मार्ग आज पनि सान्दर्भिक छ : पूर्व राष्ट्रपति विद्या भण्डारी

User Image Prime TV News २ दिन अगाडि
Image of मदन भण्डारीको राजनीतिक मार्ग आज पनि सान्दर्भिक छ : पूर्व राष्ट्रपति विद्या भण्डारी

काठमाडौ । पूर्वराष्ट्रपति विद्या भण्डारीले जननेता मदनकुमार भण्डारीले अघि सारेको जनमुखी राजनीति, वैचारिक स्पष्टता र लोकतान्त्रिक प्रतिबद्धताको मार्ग आज पनि उत्तिकै सान्दर्भिक रहेको बताएकी छन्।

३३औँ मदन–आश्रित स्मृति दिवसको अवसरमा श्रद्धाञ्जली व्यक्त गर्दै विद्या भण्डारीले मदन भण्डारी र जीवराज आश्रितले नेपाली कम्युनिष्ट आन्दोलनलाई जनतामाझ स्थापित गर्न ऐतिहासिक योगदान दिएको उल्लेख गरेकी छन्।

उनले लोकतान्त्रिक गणतन्त्रलाई अझ सुदृढ बनाउन सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिएकी छन्। 'जननेता मदन भण्डारीले देखाउनुभएको जनमुखी राजनीति, वैचारिक स्पष्टता, राष्ट्रिय स्वाभिमान र लोकतान्त्रिक प्रतिबद्धताको मार्ग आज पनि उत्तिकै सान्दर्भिक छ,' उनले सन्देशमा उल्लेख गरेकी छन्।

भण्डारीले एमालेलाई जनताको भरोसायोग्य राजनीतिक शक्तिका रूपमा स्थापित गर्न ‘जनताको बहुदलीय जनवाद’ सिद्धान्तले महत्वपूर्ण भूमिका खेलेको पनि बताएकी छन्।

उनका अनुसार वर्तमान चुनौती सामना गर्न पार्टीभित्र सुदृढ संगठनात्मक एकता, नेता–कार्यकर्ताको सक्रियता, त्याग र समर्पण अपरिहार्य छ। साथै जनअपेक्षा र सुधारको चाहनालाई ध्यानमा राख्दै पार्टी र जनताबीचको सम्बन्ध अझ बलियो बनाउनुपर्ने उनले उल्लेख गरेकी छन्।

पूर्वराष्ट्रपति भण्डारीले सिद्धान्त र व्यवहारबीच तालमेल मिलाउन नसके राजनीतिक शक्तिमाथिको जनविश्वास कमजोर हुने चेतावनी पनि दिएकी छन्। उनले जनताको विश्वास नै राजनीतिक दलको सबैभन्दा ठूलो शक्ति भएकाले त्यसलाई जोगाउन निरन्तर प्रयास आवश्यक रहेको बताएकी छन्।