सरकारका पछिल्ला गतिविधिलाई समर्थन गर्न सकिन्नः प्रचण्ड

User Image Prime TV News २ दिन अगाडि
Image of सरकारका पछिल्ला गतिविधिलाई समर्थन गर्न सकिन्नः प्रचण्ड

सुर्खेत ।  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले वर्तमान सरकार सही दिशामा अघि बढ्न नसकेको बताएका छन्। आइतबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले सरकारका गतिविधिप्रति असन्तुष्टि व्यक्त गरेका हुन्।

प्रचण्डले सुकुमबासी, विद्यार्थी र ट्रेड युनियनसँग सम्बन्धित समस्या अझै समाधान नभएको बताए। उनले संविधान संशोधनको विषय पनि स्पष्ट र पारदर्शी ढंगले अगाडि नआएको टिप्पणी गरे। उनले संसद्को नियमित प्रक्रिया छोडेर अध्यादेशमार्फत काम गर्न खोज्नु गलत भएको बताए। “सदनबाटै विधेयक ल्याउन सकिने अवस्था हुँदाहुँदै अध्यादेशको बाटो रोजिनु उचित होइन,” उनले भने।

सरकारले जनताका मुख्य समस्याभन्दा अन्य विषयमा बढी ध्यान दिएको आरोप पनि उनले लगाए। सुरुमा सरकारले केही राम्रो काम गर्ने अपेक्षा गरिए पनि पछिल्ला गतिविधिले समर्थन गर्न सकिने अवस्था नरहेको उनको भनाइ थियो।

प्रचण्डले लोकतन्त्र र संविधानको रक्षा गर्न आफ्नो पार्टी तयार रहेको बताए। साथै सरकारले जनताको आवाज नसुने विरोध र प्रतिवाद बढ्न सक्ने चेतावनी पनि दिए।