संघ, प्रदेश र स्थानीय तहको निर्वाचन फरक–फरक चरणमा हुने


काठमाडौ । प्रतिनिधि सभा विघटनसँगै अब संघ, प्रदेश र स्थानीय तहको निर्वाचन फरक–फरक चरणमा हुने भएको छ। आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुने तय भएसँगै तीन तहको चुनाव एकै पटक हुने अभ्यास अन्त्यतर्फ उन्मुख भएको निर्वाचन आयोगले जनाएको छ।
यसअघि २०७४ र २०७९ सालमा संघीय र प्रदेश निर्वाचन एकै पटक गरिँदै आएको थियो। तर हाल प्रतिनिधि सभा समय अगावै विघटन भएको अवस्थामा अब चरणबद्ध निर्वाचनको बाटो खुलेको हो।
भदौ २३ र २४ गते भएको 'जेनजी आन्दोलन' पछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि नयाँ राजनीतिक समीकरण बन्न सकेन।
संघीय संसदबाट नयाँ सरकार गठन नहुनसक्ने देखिएपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गरिएको थियो।
अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन गर्दै आगामी फागुन २१ गते निर्वाचनको मिति घोषणा गरेका हुन्।
निर्वाचन तालिका अनुसार संघीय संसदको चुनाव २०८१ फागुन २१ गते हुनेछ भने स्थानीय तहको चुनाव २०८४ वैशाख अन्तिम साता र प्रदेश सभाको चुनाव सोही वर्ष मंसिरमा हुनेछ।
प्रदेश सभाको पछिल्लो निर्वाचन २०७९ मंसिर ४ गते सम्पन्न भएको थियो, जसको पाँच वर्षे कार्यकाल २०८४ मंसिरमा समाप्त हुनेछ। स्थानीय तहको चुनाव २०७९ वैशाख ३० गते भएको थियो, त्यसको कार्यकाल पनि २०८४ वैशाखमा सकिनेछ।
अब बन्ने नयाँ प्रतिनिधि सभाको कार्यकाल २०८७ सालसम्म रहनेछ। सोही प्रतिनिधि सभाबाट निर्माण हुने सरकारले प्रदेश र स्थानीय तहको निर्वाचन गराउनेछ।
अघिल्लो पटक प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहको चुनाव एकै पटक हुँदा संघीय सरकार स्वतः परिवर्तन हुने अवस्था आइरहन्थ्यो। तर यसपटक संघीय निर्वाचन पहिले हुने भएकाले अन्य तहका चुनाव संघीय सरकारको कार्यकालमै हुने छन्।
निर्वाचन आयोगले प्रारम्भमा तीन तहको निर्वाचन एकै पटक गर्ने सम्भावनाको अध्ययन गरे पनि प्रतिनिधि सभा विघटनपछि तीन चरणमा चुनाव गरिनु उपयुक्त देखिएको जनाएको छ।