मदन भण्डारीको योगदान अझै प्रेरणादायी छ : ओली

User Image Prime TV News २ दिन अगाडि
Image of मदन भण्डारीको योगदान अझै प्रेरणादायी छ : ओली

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जननेता मदन भण्डारीलाई दूरदृष्टि भएका नेता भएको बताएका छन्। मदन–आश्रित स्मृति दिवसका अवसरमा सामाजिक सञ्जालमार्फत उनले मदन भण्डारी र जीवराज आश्रितको योगदान सम्झेका हुन्।

ओलीले ३३ वर्षअघि दासढुंगामा भएको दुर्घटनामा दुई नेताको निधन भएको स्मरण गर्दै उनीहरूको अभाव अझै महसुस भइरहेको बताएका छन्। उनका अनुसार मदन भण्डारीले नेपाली कम्युनिष्ट आन्दोलनलाई नयाँ विचार र दिशा दिएका थिए। जनताको बहुदलीय जनवादमार्फत उनले आन्दोलनलाई जनतासँग जोड्ने काम गरेको ओलीको भनाइ छ।

ओलीले “समृद्ध नेपाल, सुखी नेपाली” अभियान पनि यही विचारबाट अघि बढाइएको बताएका छन्। उनले पछिल्ला वर्षमा विकास र पूर्वाधार निर्माणमा परिवर्तन देखिन थालेको दाबी गरेका छन्। उनले मदन भण्डारी र जीवराज आश्रित अहिले शारीरिक रूपमा नभए पनि उनीहरूको विचार र योगदान अझै प्रेरणाको स्रोत बनेको उल्लेख गरेका छन्।