बुटवलमा भूमिहीनहरूको प्रदर्शन, वैकल्पिक व्यवस्था दिन माग
Prime TV News २ दिन अगाडि 
बुटवल । भूमिहीन तथा अव्यवस्थित बसोबासीहरूले आइतबार बुटवलमा ठूलो प्रदर्शन गरेका छन्।
उनीहरूले सरकारले विकल्प बिना बस्ती हटाएको भन्दै विरोध जनाएका हुन्।नेपाल भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासी संघर्ष समिति रुपन्देहीको आयोजनामा प्रदर्शन र सम्मेलन आयोजना भएको हो ।
प्रदर्शनकारीहरू राजमार्ग चौराहामा भेला भएर ट्राफिकचोक सम्म र्याली निकालेका थिए। उनीहरूले सरकारले डोजर लगाएर बस्ती हटाउँदा आफूहरू विस्थापित हुनुपरेको बताएका छन्। आयोजकका अनुसार करिब ३० हजारभन्दा बढी भूमिहीन तथा अव्यवस्थित बसोबासी प्रदर्शनमा सहभागी भएका थिए।
उनीहरूले सरकारलाई तत्काल वैकल्पिक व्यवस्था गर्न माग गरेका छन्। संघर्ष समितिका प्रतिनिधिहरूले वर्षौँदेखि बसोबास गर्दै आएका नागरिकलाई हटाउँदा ठूलो समस्या र मानसिक तनाव सिर्जना भएको बताएका छन्। आइतबारको प्रदर्शनपछि उनीहरूले सरकारलाई दबाब दिने उद्देश्यले सभा समेत गरेका थिए।
सोमबार बुटवलमै राष्ट्रिय सम्मेलन गरेर थप निर्णय गर्ने तयारी गरिएको छ। आन्दोलनकारीहरूले पहिले बनेको भूमि सम्बन्धी ऐन कार्यान्वयन गर्न पनि सरकारसँग माग गरेका छन्।







