एमाले कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथि
Prime TV News २ दिन अगाडि 
काठमाडौ । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई आफ्नो कार्यक्रमको प्रमुख अतिथि बनाएको छ। आइतबार मदननगर बल्खुमा आयोजित ३३औँ मदन–आश्रित स्मृति दिवस कार्यक्रममा उनलाई प्रमुख अतिथिका रूपमा सहभागी गराइएको हो।
यसअघि एमालेले भण्डारीको पार्टी सदस्यता नवीकरण रोक्ने निर्णय गरेको थियो। तर अहिले पहिलोपटक उनलाई औपचारिक रूपमा पार्टी कार्यक्रममै प्रमुख अतिथि बनाइएको हो। कार्यक्रममा एमालेका शीर्ष नेताहरू महासचिव शंकर पोखरेल सहित अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
मदन भण्डारी र जीवराज आश्रितको ३३ वर्षअघि चितवनको दासढुंगामा भएको गाडी दुर्घटनामा निधन भएको स्मृतिमा कार्यक्रम आयोजना गरिएको हो। भण्डारी एमालेकी पूर्वउपाध्यक्ष पनि हुन्। उनी राष्ट्रपति बनेर दुई कार्यकाल सेवा गरेकी थिइन्। कार्यकाल सकिएपछि उनले सक्रिय राजनीतिमा फर्किने घोषणा गरेकी थिइन्।
पछिल्ला दिनमा पार्टी नेतृत्व र भण्डारीबीच सम्बन्धमा केही सुधार देखिन थालेको बताइन्छ। हालै भएको भेटवार्तापछि उनलाई पार्टी कार्यक्रममा प्रमुख अतिथि बनाइएको हो ।







