१७ देखि २० असोजसम्म भारी वर्षाको सम्भावना, ललितपुर प्रशासनको उच्च सतर्कता आग्रह


काठमाडौ । आगामी असोज १७ देखि २० गतेसम्म देशका विभिन्न भागमा मनसुनी प्रणाली सक्रिय रहने पूर्वानुमानसँगै ललितपुर जिल्ला प्रशासन कार्यालयले नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना औंल्याएपछि प्रशासनले सम्भावित जोखिमबारे सतर्क रहन सबैलाई अनुरोध गरेको हो।
प्रशासनले विशेषगरी काठमाडौँ उपत्यका, काभ्रेपलाञ्चोक, मकवानपुर लगायतका पहाडी जिल्लामा साना नदी तथा खोलानालाहरूमा आकस्मिक बाढी आउन सक्ने, पहिरो, डुबान र भू–क्षयजस्ता प्राकृतिक विपद्को जोखिम बढ्ने चेतावनी दिएको छ।
यस्तै प्रशासनले कान्ति राजमार्ग, बागमती गाउँपालिका, कोञ्ज्योसोम गाउँपालिका र महाँकाल गाउँपालिका जोड्ने मुख्य तथा सहायक सडकहरूमा यात्रा गर्दा विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ। विशेष परिस्थितिबाहेक रात्रीकालीन सवारी सञ्चालन नगर्न समेत सुझाव दिइएको छ।
पहिरो, बाढी वा डुबानको उच्च जोखिम भएका क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई उक्त अवधिभर विशेष सावधानी अपनाउन, जोखिम न्यूनीकरणका उपायहरू अवलम्बन गर्न तथा स्थानीय प्रशासन र सुरक्षा निकायले जारी गर्ने सूचनाको पालना गर्न पनि आह्वान गरेको छ ।