स्थानीय सरकारले अल्पकालीन राजनीतिक लाभभन्दा दीर्घकालीन योजनामा ध्यान दिनुपर्छः परराष्ट्रमन्त्री खनाल

User Image Prime TV News २ दिन अगाडि
Image of स्थानीय सरकारले अल्पकालीन राजनीतिक लाभभन्दा दीर्घकालीन योजनामा ध्यान दिनुपर्छः परराष्ट्रमन्त्री खनाल

काठमाडौ । परराष्ट्रमन्त्री शिशिर खनालले स्थानीय सरकारले अल्पकालीन राजनीतिक लाभभन्दा दीर्घकालीन योजनामा ध्यान दिनुपर्ने बताएका छन्। काठमाडौको टोखा नगरपालिकाले आर्थिक वर्ष २०८३/८४ को नीति, कार्यक्रम र बजेट निर्माणका लागि सुझाव संकलन गर्न आइतबार आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन्।

मन्त्री खनालले २०–२५ वर्षपछि पनि जनताले सम्झिने गरी विकासका योजना बनाउनुपर्ने बताए। उनले स्थानीय तहका जनप्रतिनिधिलाई दीर्घकालीन सोचका साथ काम गर्न आग्रह गरे। उनका अनुसार टोखाको दक्षिणी भाग घना बस्तीले भरिएको छ भने उत्तरी भागमा अझै खुला जमिन छ, जसलाई व्यवस्थित सहर विकासका लागि उपयोग गर्न सकिन्छ।

उनले टोखाको ऐतिहासिक नेवारी बस्ती र शनिबार लाग्ने बजारलाई व्यवस्थित गर्दै पर्यटन प्रवर्द्धन गर्न सकिने सुझाव दिए। साथै, होमस्टे विकास गरेर आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न सकिने उनको भनाइ थियो। कार्यक्रममा अन्य वक्ताहरूले पनि विकास निर्माणमा राजनीति नगरी जनताको आवश्यकता अनुसार काम गर्नुपर्नेमा जोड दिएका थिए। टोखा नगरपालिकाले जनताको सुझाव समेटेर आगामी वर्षको नीति तथा कार्यक्रम बनाउने जनाएको छ।