प्रतिनिधिसभा क्यालेन्डरमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम समेटिएन
Prime TV News २ दिन अगाडि 
काठमाडौ । प्रतिनिधिसभाको आगामी डेढ महिनाको कार्यतालिका सार्वजनिक भए पनि प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रम भने समावेश गरिएको छैन।
संसद सचिवालयले प्रतिनिधिसभा नियमावली, २०७९ अनुसार क्यालेन्डर तयार गरिएको जनाएको छ। तर नियमावलीमा रहेको प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्ने व्यवस्था यसपटक लागू गरिएको देखिँदैन। नियमअनुसार हरेक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग सम्बन्धित विषयमा सांसदहरूले प्रश्न सोध्ने र त्यसको जवाफ दिने कार्यक्रम राखिनुपर्ने हुन्छ। तर वर्तमान संसदमा यो अभ्यास अहिलेसम्म नियमित रूपमा कार्यान्वयन भएको छैन।
क्यालेन्डरअनुसार ४ र ५ जेठमा शून्य समय र बजेटसम्बन्धी छलफल हुने छ। ६ जेठमा विभिन्न विधेयकमाथि छलफल र जवाफ दिने कार्यसूची छ। ७ जेठमा केही नयाँ विधेयक संसदमा प्रस्तुत हुनेछन्। त्यस्तै, असारको पहिलो सातामा बजेट, आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयकसम्बन्धी छलफल तथा पारित गर्ने कार्यक्रम राखिएको छ।
यसअघि पनि प्रधानमन्त्री बालेन शाह नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन संसदमा उपस्थित नभएको भन्दै आलोचना भएको थियो। त्यसबेला अर्थमन्त्रीले जवाफ दिएका थिए। नियमावलीमा स्पष्ट व्यवस्था भए पनि प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम क्यालेन्डरमा नसमेटिनुले यसको कार्यान्वयनबारे प्रश्न उठाएको छ।







