प्रधानमन्त्रीले संसदको उपेक्षा गरेको कांग्रेसको आरोप
Prime TV News २ दिन अगाडि 
काठमाडौ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले प्रधानमन्त्री बालेन शाहले जानी जानी संसदको उपेक्षा गरेको आरोप लगाएका छन्। आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका महामन्त्री पौडेलले सरकारको काम गर्ने शैलीप्रति गम्भीर प्रश्न उठाएका हुन्।
उनले प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुनुपर्ने भए पनि अहिले त्यो जिम्मेवारी पूरा नगरेको बताएका छन्। सरकार छोटो समयमै धेरै प्रश्नको घेरामा परेको भन्दै उनले यसले जनतामा निराशा बढाउन सक्ने बताए। पौडेलले सरकारले धेरै शक्ति प्रधानमन्त्री केन्द्रित बनाएको आरोप पनि लगाए। राजस्व अनुसन्धान, सम्पत्ति शुद्धीकरण र विशेष अनुसन्धानजस्ता निकाय प्रधानमन्त्रीकै नियन्त्रणमा केन्द्रित गरिएको उनको भनाइ थियो।
उनले “म नै सबैथोक हुँ” भन्ने सोच लोकतन्त्रका लागि खतरा बन्न सक्ने चेतावनी दिए। महामन्त्री पौडेलले नेपाली कांग्रेस प्रतिपक्षको भूमिकामा रहेको भन्दै लोकतन्त्र र संसदीय व्यवस्थाको रक्षा गर्न सरकारलाई निरन्तर प्रश्न गरिरहने बताएका छन्।







