निर्माण व्यवसायीको गुनासोः ‘काम गर्ने अवस्था छैन’

User Image Prime TV News २ दिन अगाडि
Image of निर्माण व्यवसायीको गुनासोः ‘काम गर्ने अवस्था छैन’

काठमाडौ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डेले निर्माण क्षेत्र गम्भीर संकटमा पुगेको बताएका छन्। उनले सरकारले कानुनअनुसारको मूल्य समायोजन नदिएको, कामको भुक्तानी रोकिएको र व्यवसायीमाथि दबाब बढेको आरोप लगाए।

पाण्डेका अनुसार अहिले धेरै निर्माण व्यवसायी घाटामा काम गर्न बाध्य छन्। काम गर्दा नाफा नहुने मात्र होइन, घरजग्गासमेत गुम्ने अवस्था आएको उनले बताए। उनले धेरै व्यवसायीले काम गरे पनि समयमै भुक्तानी नपाएको उल्लेख गरे। साथै आयोजना प्रमुख र इन्जिनियरहरूले काम नगरे कालोसूचीमा राख्ने तथा बैंक ग्यारेन्टी जफत गर्ने धम्की दिएको पनि उनको भनाइ छ।

पाण्डेका अनुसार यस्ता कारणले निर्माण व्यवसायी मानसिक तनावमा परेका छन्। कतिपयले देश छोडेर बाहिर जानुपर्ने अवस्था आएको समेत बताएका छन्। उनले निर्माण क्षेत्र स्वतः ठप्प हुने अवस्थामा पुगेको भन्दै व्यवसायीहरूले काम गर्न नचाहेर होइन, गर्न नसकेर काम रोकिने स्थिति आएको बताए।

निर्माण व्यवसायीहरूले यसअघि सरकार र सम्बन्धित निकायसँग पटक–पटक छलफल गरे पनि समस्या समाधान नभएको गुनासो गरेका छन्।