कांग्रेस एकतामा जोड, खड्कालाई पार्टी नफुटाउन सुझाव
Prime TV News २ दिन अगाडि 
सुर्खेत । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्कालाई कर्णालीका नेपाली कांग्रेस नेताहरूले पार्टी विभाजन हुन नदिन सुझाव दिएका छन्। शनिबारदेखि सुर्खेतमा आयोजित कर्णाली प्रदेशस्तरीय भेलामा सहभागी जिल्ला सभापतिहरूले पार्टीभित्रको विवाद समाधान गरेर एकतामा अघि बढ्न आग्रह गरेका हुन्।
भेटका क्रममा खड्काले पार्टीभित्र विवाद बढ्दै गएको र नेतृत्व गम्भीर नभएको बताएका थिए। उनले नेता कार्यकर्ताको अपमान भइरहेको गुनासो पनि गरेका छन्। जिल्ला सभापतिहरूले भने आगामी १५औँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाउन सबै पक्षले लचकता अपनाउनुपर्ने बताएका छन्।
कार्यक्रममा नेताहरूले कांग्रेसभित्र गुटबन्दी बढेको भन्दै चिन्ता व्यक्त गरेका थिए। उनीहरूले पार्टी कमजोर हुने गतिविधि रोक्न नेतृत्वलाई सुझाव दिएका छन्। खड्काले देशभरका नेता–कार्यकर्ताको सुझाव लिएर आवश्यक निर्णय गरिने बताएका छन्।







