नेपाल–स्कटल्यान्ड भिडन्त आज : ओडिआई अस्तित्व जोगाउने दबाबमा नेपाल
Prime TV News एक दिन अगाडि 
काठमाडौ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले आज स्कटल्यान्डसँग महत्त्वपूर्ण खेल खेल्दैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट ग्राउण्डमा बिहान ९ः३० बजे सुरु हुने खेल नेपालका लागि अत्यन्त निर्णायक बनेको छ।
यसअघि स्कटल्यान्डसँग भएको खेलमा नेपाल केवल दुई रनले पराजित भएको थियो। त्यसैले आजको खेलमा बदला लिँदै महत्वपूर्ण अंक जोड्ने लक्ष्यसहित नेपाली टोली मैदानमा उत्रिनेछ। घरेलु समर्थकको साथ पाएको नेपाललाई जित निकाल्न दबाब पनि उत्तिकै छ।
लिग–२ को तालिकामा अमेरिका २६ खेलबाट ३६ अंक जोडेर दोस्रो स्थानमा छ भने स्कटल्यान्ड ३० खेलबाट ३८ अंकसहित शीर्ष स्थानमा छ। नेपाल भने २६ खेलमा २० अंक जोडेर आठ राष्ट्र सम्मिलित तालिकाको सातौँ स्थानमा छ। लिग २ का शीर्ष चार टोली सोझै विश्वकप छनोटमा पुग्ने भएकाले नेपालका लागि अबका हरेक खेल ‘गर या मर’ को स्थितिमा छन्।
एकदिवसीय मान्यता जोगाउन पनि नेपाललाई आगामी खेलहरूमा लगातार राम्रो प्रदर्शन आवश्यक छ। कमजोर प्रदर्शनले नेपाली क्रिकेटलाई ठूलो धक्का पुग्न सक्छ, त्यसैले आजको खेल नेपाली टोलीका लागि केवल प्रतिस्पर्धा मात्र होइन, अस्तित्वको परीक्षा पनि बनेको छ ।







