एमालेको केन्द्रीय सचिवालयको बैठक बस्दै
Prime TV News एक दिन अगाडि 
काठमाडौ । नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक आज बस्दै छ । अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको गुण्डुमा दिउँसो १ बजे बस्ने बैठकमा नेताहरुको कार्यविभाजन मुख्य एजेन्डा रहेको छ ।
पार्टी केन्द्रीय कार्यालयका सचिव डा. भीष्मराज अधिकारीका अनुसार यही जेठ २ गते बस्ने भनिएको बैठक तयारी नपुगेको भन्दै आजलाई सारिएको थियो ।
पार्टीको ११औँ महाधिवेशनपछि नेताहरुको कार्यविभाजन नभएकाले आजको मुख्य एजेन्डा यसमै केन्द्रित हुने नेताहरुले बताएका छन् । एक पदाधिकारीका अनुसार केन्द्रीय सदस्यलाई पालिकास्तरको जिम्मेवारी दिएर पठाउने तयारी छ ।
हरेक केन्द्रीय सदस्यलाई पालिकाको इञ्चार्ज बनाएर आउने स्थानीय तहको निर्वाचनमा पार्टीलाई बलियो बनाउन निर्देशन दिने तयारी छ । केन्द्रीय विभाग तथा निकायमा जिम्मेवारी बाँडफाँटको तयारी छ ।
आजको बैठकले गत फागुन २१ गते सम्पन्न निर्वाचनको समीक्षाका लागि केन्द्रीय कमिटीको बैठकको मिति समेत तोक्ने जनाइएको छ ।







