दशैसम्म सुकुम्बासीलाई पुर्जा वितरण हुन्छ, अहिले आन्दोलन गर्नु आवश्यक छैन : मन्त्री लम्साल
Prime TV News एक दिन अगाडि 
रुपन्देही । भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले सरकारले दशैँसम्म सबै सुकुम्बासीलाई जग्गाको पुर्जा दिने तयारी गरिरहेको बताएका छन्। उनले अहिले आन्दोलन गर्नु आवश्यक नभएको पनि बताए।
रूपन्देही–१ का मतदातासँग कुरा गर्दै मन्त्री लम्सालले सरकारले सुकुम्बासी समस्या स्थायी रूपमा समाधान गर्न काम गरिरहेको जानकारी दिए। उनका अनुसार पहिलो क्याबिनेट बैठकबाटै यस विषयलाई प्राथमिकतामा राखिएको छ।
उनले सरकारले पाँच वटा कार्ययोजना बनाएर निश्चित समयसीमाभित्र काम अघि बढाएको बताए। “हामी गफ होइन, काम गरेर देखाउने टोली हौँ,” उनले भने। काठमाडौंको अवस्था भने केही फरक रहेको उनको भनाइ छ। वर्षाका कारण समस्या बढेको र केही ठाउँमा मानवीय क्षति समेत भएकाले प्रभावित परिवारलाई विकल्प आवश्यक परेको उनले बताए।
मन्त्री लम्सालले कसैको उक्साहटमा आन्दोलनमा नजान पनि आग्रह गरेका छन्। उनले सरकारले तय गरिएको योजनाअनुसार काम गरिरहेको र दशैँसम्म सबैले पुर्जा पाउने दाबी गरे।







