सर्वोच्चमा रिट दर्ता विवाद, कामु प्रधान न्यायाधीशको आदेशपछि प्रशासनमा हलचल
Prime TV News एक दिन अगाडि 
काठमाडौ । प्रधान न्यायाधीश सिफारिस विरुद्ध दायर गर्न खोजिएका रिट निवेदन दर्ता नगरेको विषयलाई लिएर सर्वोच्च अदालतमा विवाद उत्पन्न भएको छ। विवादपछि कामु प्रधान न्यायाधीश सपना प्रधान मल्लले सबै रिट निवेदन दर्ता गर्न आदेश दिएकी छन्।
कामु प्रधान न्यायाधीशले अदालत प्रशासनले रिट निवेदन दर्ता नगरी न्यायमा पहुँच रोक्ने प्रयास गरेको ठहर गर्दै ती सबै निवेदन आजै दिउँसो १ बजेसम्म दर्ता गर्न र भोलिका लागि पेशी तोक्न निर्देशन दिएकी हुन्। यो आदेशपछि सर्वोच्च अदालतका प्रशासनिक कर्मचारीहरू केही समय कार्यकक्ष छाडेर बाहिरिएको जस्तो अवस्था देखिएको बताइएको छ।
यसअघि चौथो वरीयताका डा. मनोजकुमार शर्मालाई प्रधान न्यायाधीश सिफारिसविरुद्ध परेको रिट दर्ता गर्न प्रशासनले अस्वीकार गरेको भन्दै कानुन व्यवसायीहरूले आपत्ति जनाएका थिए। कामु प्रधान न्यायाधीशको आदेशमा संवैधानिक अधिकारअनुसार दायर हुने निवेदन रोक्नु वा ढिलाइ गर्नु न्यायिक प्रक्रियामाथिको अवरोध हुने उल्लेख गरिएको छ।
साथै, रिट दर्ता नगर्ने निर्णयका कारण न्यायपालिकाको निष्पक्षता र स्वच्छतामाथि प्रश्न उठेको पनि आदेशमा भनिएको छ। अहिले कानुन व्यवसायीहरूले यस विषयमा सर्वोच्च परिसरमा विरोध र छलफलको तयारी गरिरहेको जनाइएको छ।






