प्रस्तावित प्रधानन्यायाधीश मनोज शर्माले आफू विरुद्धका रिट दर्ता नगर्न निर्देशन दिएको खुलासा
Prime TV News एक दिन अगाडि 
काठमाडौ । सर्वोच्च अदालतमा प्रधानन्यायाधीश सिफारिस विरुद्ध दर्ता हुनुपर्ने रिट निवेदनहरू दर्ता नगर्न निर्देशन दिइएको तथ्य खुलेको छ। सिफारिस भएका न्यायाधीश मनोज शर्मालेनै आफू विरुद्धका रिट दर्ता नगर्न प्रशासनलाई निर्देशन दिएको मुख्य रजिस्ट्रारले जानकारी गराएको खुलेको हो।
कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले सोमबार यस विषयमा मुख्य रजिस्ट्रार विमल पौडेलसँग स्पष्टीकरण मागेकी थिइन्। त्यस क्रममा पौडेलले शर्माको निर्देशनका कारण रिट दर्ता रोकिएको बताएका थिए। यसअघि संवैधानिक परिषद्को सिफारिसपछि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहितका कानुन व्यवसायीहरूले सर्वोच्चमा रिट दायर गरेका थिए। तर, अदालत प्रशासनले सुरुमा ती निवेदन दरपीठ गरेको थियो।
पछि इजलासमा पुगेको विवादमा सुनुवाइ हुँदा रिट दर्ता रोकिएको विषय उजागर भएको हो। कायममुकायम प्रधानन्यायाधीश मल्लले अदालत प्रशासनले निवेदन दर्ता नगरी वा ढिलाइ गरी न्यायिक प्रक्रियामा अवरोध गरेको निष्कर्ष निकालेकी छन्। आदेशमा संविधानको धारा १३६, न्याय प्रशासन ऐन २०७३ र सर्वोच्च अदालत नियमावली २०७४ अनुसार अदालतको प्रशासन सञ्चालन गर्ने अधिकार प्रयोग गर्नुपर्ने अवस्था आएको उल्लेख छ।
उनले कानुनअनुसार दर्ता गर्नुपर्ने निवेदन रोक्नु न्यायमा पहुँच अवरुद्ध गर्नु र अदालतप्रतिको जनआस्थामा असर पार्ने कार्य भएको पनि आदेशमा भनिएको छ। मल्लले सबै रिट निवेदनहरू आजै दिउँसो १ बजेसम्म दर्ता गरी भोलि (जेठ ५) का लागि पेशी तोक्न आदेश दिएकी छन्। साथै आदेश कार्यान्वयनबारे जानकारी गराउन पनि मुख्य रजिस्ट्रारलाई निर्देशन दिइएको छ।








