कामु प्रधानन्यायाधीशको आदेशप्रति प्रतिनिधिसभामा रास्वपा सांसदद्वारा आपत्ति
Prime TV News एक दिन अगाडि 
काठमाडौ । सर्वोच्च अदालतकी कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले दिएको आदेशप्रति राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले आपत्ति जनाएका छन्। प्रतिनिधिसभाको बैठकमा सांसद यज्ञमणि न्यौपाने र समीक्षा बास्कोटाले उक्त आदेशप्रति प्रश्न उठाउँदै आपत्ति जनाएका हुन्।
कामु प्रधानन्यायाधीश मल्लले प्रधानन्यायाधीश सिफारिसविरुद्ध दर्ता गरिएका दरपीठ निवेदनहरू दर्ता गरी पेशी तोक्न आदेश दिएकी थिइन्। सोही विषयलाई लिएर संसदमा सांसदहरूले टिप्पणी गरेका हुन्। सांसद यज्ञमणि न्यौपानेले उक्त आदेशमा “कन्फ्लिक्ट अफ इन्ट्रेस्ट” हुन सक्ने भन्दै आपत्ति जनाए। उनले न्यायिक निष्पक्षतामाथि प्रश्न उठ्ने अवस्था आएको बताएका थिए।
त्यस्तै, सांसद समीक्षा बास्कोटाले अदालतले आफ्नो मुख्य भूमिकाभन्दा बाहिर गएर अन्य विषयमा ध्यान दिएको भन्दै आलोचना गरिन्। उनले दरपीठ गरिएका निवेदन दर्ता गर्न दिएको आदेश न्यायोचित हो वा होइन भन्ने प्रश्न पनि उठाइन्। यो विषय सर्वोच्च अदालतको प्रशासनिक निर्णय र न्यायिक प्रक्रियासँग सम्बन्धित भएकाले पछिल्ला दिनमा कानुन व्यवसायी र राजनीतिक वृत्तमा पनि बहसको विषय बनेको छ।







