प्रतिनिधिसभा नियमावली संशोधन प्रक्रिया अघि बढ्यो, संशोधन प्रस्तावका लागि समय खुला
Prime TV News एक दिन अगाडि 
काठमाडौ । प्रतिनिधिसभा नियमावलीको नयाँ मस्यौदामा संशोधन प्रस्ताव राख्ने समय खुला गरिएको छ। सोमबार बसेको प्रतिनिधिसभा बैठकले ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मत रूपमा स्वीकृत गरेपछि संशोधन प्रक्रिया अघि बढेको हो।
सभामुखले प्रस्ताव स्वीकृत भएपछि सांसदहरूका लागि संशोधन दर्ता गर्न समय खुला गरिएको घोषणा गरेका छन्। छलफलका क्रममा विपक्षी दलका सांसदहरूले मस्यौदामा समावेश केही व्यवस्थाप्रति आपत्ति जनाएका छन्। विशेषगरी संसदीय समितिको बैठक मन्त्रीको उपस्थिति बिना पनि बस्न सक्ने प्रावधानप्रति उनीहरूको असन्तुष्टि देखिएको छ।
हालको प्रस्तावअनुसार समितिको बैठकमा विधेयकमाथिको छलफलमा मन्त्रीको उपस्थिति अनिवार्य हुने भए पनि अन्य कार्यसूचीका विषयमा आवश्यकताअनुसार मात्र उपस्थिति रहने व्यवस्था राखिएको छ। विपक्षी दलहरूले भने पहिलेझैं सबै समितिका बैठकमा मन्त्रीको उपस्थिति अनिवार्य हुनुपर्ने माग गरेका छन्।
त्यस्तै, नियमावलीमा थप गरिएको अर्को प्रावधान ‘संसदीय विशेषाधिकार’ सम्बन्धी व्यवस्थाप्रति पनि विपक्षी दलहरूले विरोध जनाएका छन्। प्रस्तावित नियम २५९ अनुसार प्रतिनिधिसभा सदस्य र समितिहरूका हकमा यो नियमावली संघीय कानुनसरह लागू हुने र विशेषाधिकारको रूपमा रहने उल्लेख छ।
यसअघि लागू नियमावली २०७९ मा यस्तो व्यवस्था थिएन। नयाँ मस्यौदामा गरिएको परिवर्तनले संसदीय कामकारबाहीको अभ्यासमा प्रभाव पार्न सक्ने भन्दै बहस भइरहेको छ। अब सांसदहरूले संशोधन प्रस्ताव दर्ता गरेपछि नियमावली अन्तिम टुंगो लगाउने प्रक्रिया अघि बढ्नेछ।







