कांग्रेस प्रतिष्ठानले १२ उपसमिति गठन, नीतिगत अध्ययन र अभियान सञ्चालन गर्ने
Prime TV News एक दिन अगाडि 
काठमाडौ । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले विभिन्न समसामयिक र नीतिगत विषयमा काम गर्न १२ वटा उपसमिति गठन गरेको छ।
पार्टी केन्द्रीय कार्यालयमा बसेको प्रतिष्ठानको बैठकले भूमि व्यवस्था, विपद् व्यवस्थापन, मानसिक स्वास्थ्य, डिजिटल सुशासन, निर्वाचन प्रणाली सुधारलगायतका क्षेत्रमा अध्ययन, छलफल र अभियान सञ्चालन गर्ने उद्देश्यले उपसमिति गठन गर्ने निर्णय गरेको हो।
उपसभापति तथा प्रतिष्ठान प्रमुख विश्वप्रकाश शर्माको अध्यक्षतामा बसेको बैठकले विभिन्न उपसमितिको संयोजक पनि तोकेको छ। निर्णयअनुसार भूमि व्यवस्था विशेष अभियान उपसमितिको संयोजक डा. गोपाल दहित, विपद् व्यवस्थापन उपसमितिको संयोजक मानबहादुर थापा, मानसिक स्वास्थ्य सचेतना अभियान उपसमितिको संयोजक मोहना अन्सारी र सूचना प्रविधि तथा डिजिटल सुशासन उपसमितिको संयोजक इन्जिनियर दीपेश विष्ट तोकिएका छन्।
त्यस्तै निर्वाचन प्रणाली सुधार उपसमितिको संयोजक जनक चटौत, पूर्वाधार विकास अवधारणा उपसमितिको संयोजक इन्जिनियर अमृत ज्ञवाली, उद्यमशीलता, नवप्रवर्तन र रोजगार उपसमितिको संयोजक खगेन्द्र आचार्य र शिक्षा तथा शिक्षालय नीति उपसमितिको संयोजक डा. कृष्णप्रसाद पौडेल चयन भएका छन्।
बीपी ज्ञान केन्द्र उपसमितिको संयोजकमा प्रकाश लामिछाने तोकिएको छ। यस उपसमितिले आगलागीबाट क्षति पुगेको केन्द्रीय पुस्तकालय पुनःनिर्माण गरी ‘बीपी विचार स्कुल’का रूपमा विकास गर्ने लक्ष्य लिएको छ। यसैगरी जातीय विभेदविरुद्ध सचेतना, डिजिटल सचेतना तथा तथ्य जाँच र ‘ग्रीन टेबल’ उपसमिति पनि गठन गरिएको छ।
बैठकले सबै उपसमितिलाई आगामी दिनमा आफ्ना कार्ययोजना तयार पारेर प्रस्तुत गर्न निर्देशन दिएको छ।







