नेपालले शीर्ष स्थानको स्कटल्यान्डलाई ६ विकेटले हरायो, लिग २ मा पाँचौं स्थानमा उक्लियो

User Image Prime TV News एक दिन अगाडि
Image of नेपालले शीर्ष स्थानको स्कटल्यान्डलाई ६ विकेटले हरायो, लिग २ मा पाँचौं स्थानमा उक्लियो

काठमाडौ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत सोमबार भएको खेलमा नेपालले शीर्ष स्थानको स्कटल्यान्डलाई ६ विकेटले पराजित गरेको छ। यो जितसँगै नेपाल अंक तालिकामा पाँचौं स्थानमा उक्लिएको छ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा १९५ रनको लक्ष्य पछ्याएको नेपालले ३८ ओभर १ बलमा ४ विकेट गुमाउँदै १९९ रन बनाएर खेल जितेको हो। नेपालको जितमा कप्तान रोहित पौडेलले नटआउट ७४ रनको महत्वपूर्ण इनिङ खेले। उनले ९८ बलमा ५ चौका र २ छक्का प्रहार गरे। रोहितले इशान पाण्डेसँग तेस्रो विकेटका लागि शतकीय साझेदारी गर्दै टोलीलाई जिततर्फ डोर्याए। इशानले ५५ रन जोडे।

ओपनर कुशल भुर्तेलले २८ रन र आसिफ शेखले २९ रन बनाए। उपकप्तान दीपेन्द्रसिंह ऐरी २ रनमै आउट भए भने आरिफ शेख ८ रनमा नटआउट रहे। यसअघि टस जितेर ब्याटिङ गरेको स्कटल्याण्ड ३९ ओभर १ बलमा १९४ रनमा अलआउट भएको थियो। उसका लागि ब्रेन्डन म्याकमुलेनले ७३ रन र माइकल इंग्लिसले ५१ रनको योगदान दिए।

नेपालका बलरमध्ये ललित राजवंशीले ४ विकेट लिए भने सन्दीप लामिछानेले ३ विकेट हात पारे। अन्य एक–एक विकेट नन्दन यादव, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले लिए।

यो जितपछि २७ खेलबाट २२ अंक जोडेको नेपाल पाँचौं स्थानमा उक्लिएको छ। नेपालले अब सिरिजको अन्तिम खेल शुक्रबार अमेरिकासँग खेल्नेछ।