अमृत झा अझै इरानकै हिरासतमा, गलत सूचना दिएकोमा परराष्ट्र मन्त्रालयको माफी

User Image Prime TV News एक दिन अगाडि
Image of अमृत झा अझै इरानकै हिरासतमा, गलत सूचना दिएकोमा परराष्ट्र मन्त्रालयको माफी

काठमाडौ । इरानमा पक्राउ परेका नेपाली नागरिक अमृत झा रिहा भएको भनिए पनि उनी अझै हिरासतमा रहेको खुलेको छ। गलत सूचना सार्वजनिक भएको स्वीकार गर्दै परराष्ट्र मन्त्रालयले माफी मागेको छ।

सोमबार मन्त्रालयले विज्ञप्ति जारी गर्दै झा हाल इरानको बन्दर अब्बासस्थित थुनामा रहेको र उनको मुद्दा स्थानीय अदालतमा विचाराधीन रहेको जानकारी दिएको हो। मन्त्रालयका अनुसार झासहित अन्य विदेशी नागरिकहरूलाई इरानी सुरक्षाकर्मीले गत जनवरीमा क्युसिएम टापुबाट पक्राउ गरेका थिए।

यसअघि इरानका लागि नेपाली अनररी कन्सलबाट झा रिहा भएको अनौपचारिक जानकारी प्राप्त भएपछि मन्त्रालयले सार्वजनिक रूपमा रिहा भएको सूचना दिएको थियो। त्यसपछि परराष्ट्र मन्त्रीले पनि सामाजिक सञ्जालमार्फत त्यही जानकारी सार्वजनिक गरेका थिए।

तर पछि अदालतले मुद्दामा थप अध्ययन र विशेषज्ञ प्रतिवेदन माग गरेपछि झा रिहा नभएको पुष्टि भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयले अहिले झाको कानुनी सहायता र निष्पक्ष सुनुवाइका लागि कूटनीतिक पहल जारी रहेको बताएको छ। साथै, गलत सूचनाका कारण परिवार र सर्वसाधारणमा परेको अन्योलप्रति दुःख व्यक्त गर्दै क्षमा मागेको छ।