समस्याग्रस्त सहकारीका बचतकर्ताले रकम पाउन थाले

User Image Prime TV News एक दिन अगाडि
Image of समस्याग्रस्त सहकारीका बचतकर्ताले रकम पाउन थाले

काठमाडौ । समस्याग्रस्त सहकारीमा बचत फसेका साना बचतकर्ताले रकम फिर्ता पाउन सुरु गरेका छन्। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सोमबार तीन वटा सहकारीका ३ सय ७८ जना बचतकर्तालाई रकम फिर्ता दिएको हो।

कान्तिपुर, शिव शिखर बहुउद्देश्यीय र पशुपति सहकारीका साना बचतकर्ताले पहिलो चरणमा आफ्नो बचत रकम पाएका छन्। समितिले सुरुमा कम रकम बचत गरेका व्यक्तिलाई प्राथमिकता दिएको जनाएको छ।

अब बचत रकमको आधारमा अन्य बचतकर्तालाई पनि क्रमशः रकम फिर्ता गरिने बताइएको छ। सरकारका अनुसार समस्याग्रस्त सहकारीमा करिब ७६ हजार बचतकर्ताको ४६ अर्ब रुपैयाँभन्दा बढी रकम फिर्ता गर्न बाँकी छ। तीमध्ये धेरैजसो साना बचतकर्ता छन्।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले सहकारीको ऋण असुली काम पनि तीव्र पारिएको बताइन्। ऋणीहरूको नाम सार्वजनिक भएपछि रकम फिर्ता हुन थालेको सरकारको भनाइ छ। हालसम्म समस्याग्रस्त सहकारीका ऋणीबाट २ करोड रुपैयाँभन्दा बढी रकम असुल भएको समितिले जनाएको छ।