पश्चिमी वायुको प्रभाव : पहाडी क्षेत्रमा वर्षा, तराईमा गर्मी बढ्ने

User Image Prime TV News १६ घण्टा अगाडि
Image of पश्चिमी वायुको प्रभाव : पहाडी क्षेत्रमा वर्षा, तराईमा गर्मी बढ्ने

काठमाडौ । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको जनाएको छ। यसका कारण देशका विभिन्न क्षेत्रमा बदली, वर्षा तथा हिमपातको सम्भावना देखिएको छ।

महाशाखाका अनुसार अहिले कोशी प्रदेश सहित बागमती , गण्डकी र लुम्बिनीका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रहेको छ। केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो कोशीसहित देशका अधिकांश हिमाली र पहाडी क्षेत्रमा बदली रहने सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना पनि रहेको छ।

यस्तै मधेस प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराईका एक दुई स्थानमा पनि वर्षा हुन सक्ने अनुमान गरिएको छ। अर्कोतर्फ सुदुरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा तातो दिनको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदली रहनेछ। कोशी र गण्डकी प्रदेशका थोरै स्थान तथा मधेस, बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ।

मौसममा आएको परिवर्तनसँगै पहाडी क्षेत्रमा यात्रा गर्ने तथा कृषिकर्ममा संलग्न नागरिकलाई सतर्कता अपनाउन आग्रह गरिएको छ। चट्याङ र अचानक वर्षाले जनजीवन प्रभावित पार्न सक्ने भएकाले सावधानी आवश्यक देखिएको छ।