अमेरिकाको एक मस्जिदमा गोलीकाण्ड

User Image Prime TV News १३ घण्टा अगाडि
Image of अमेरिकाको एक मस्जिदमा गोलीकाण्ड

काठमाडौ ।अमेरिकाको क्यालिफोर्निया राज्यस्थित सान डिएगोको एक मस्जिदमा भीषण गोलीकाण्ड भएको छ।

घटनामा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। आक्रमणमा संलग्न भएको आशंका गरिएका दुई किशोर पनि पछि मृत अवस्थामा फेला परेका छन्।

घटना ‘इस्लामिक सेन्टर अफ सान डिएगो’ मा भएको हो। यो मस्जिद सान डिएगो क्षेत्रकै ठूलो मस्जिदमध्ये एक मानिन्छ। प्रहरीका अनुसार मस्जिदमा अन्धाधुन्ध गोली चलाइएको थियो।

घटनापछि सुरक्षाकर्मीहरूले तत्काल प्रतिकार गरेका थिए। प्रहरी प्रमुखले सुरक्षाकर्मीको साहसका कारण थप मानवीय क्षति हुनबाट जोगिएको बताएका छन्।

प्रारम्भिक अनुसन्धानमा घटनालाई घृणाजन्य अपराधका रूपमा हेरिएको प्रहरीले जनाएको छ। गोलीकाण्डअघि एक महिलाले आफ्नो छोरा हराएको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन्। उनले घरबाट हतियार र कारसमेत हराएको जानकारी गराएकी थिइन्।

घटनापछि फरार भएका दुई किशोर संदिग्धहरू केही समयपछि नजिकै सडकमा गुडिरहेको कारभित्र मृत अवस्थामा भेटिएका थिए। प्रहरीले उनीहरूले आफैँलाई गोली हानेको हुन सक्ने अनुमान गरेको छ।

घटनापछि सान डिएगो क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ भने प्रहरीले थप अनुसन्धान जारी राखेको जनाएको छ।