सर्वोच्च प्रशासन विरुद्ध लालटिन बालेर बारले विरोध गर्दै

User Image Prime TV News १० घण्टा अगाडि
Image of सर्वोच्च प्रशासन विरुद्ध लालटिन बालेर  बारले विरोध गर्दै

काठमाडौ । नेपाल बार एसोसिएसनले सर्वोच्च अदालत प्रशासनको विरोधमा आज प्रदर्शन गर्ने भएको छ। बारले रिट तथा निवेदन दर्ता गर्न अस्वीकार गरिएको भन्दै दिउँसै लालटिन बालेर विरोध जनाउने निर्णय गरेको हो।

सोमबार कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लसँग भेट गरेपछि बसेको बारको बैठकले अदालत प्रशासनको गतिविधिप्रति गम्भीर असन्तुष्टि जनाएको छ।

बारका महासचिव केदार कोइरालाका अनुसार अदालत प्रशासनले रिट निवेदन दर्ता नगरी दरपीठ गरेर फर्काएको कारण न्याय प्रक्रियामै अवरोध सिर्जना भएको छ।

बारले कामु प्रधानन्यायाधीशको आदेशसमेत प्रशासनले पालना नगरेको दाबी गरेको छ। बारका अनुसार कानुन र नियमावलीअनुसार दर्ता गर्न भनिएको निवेदनसमेत रोकिएको छ, जुन गम्भीर विषय भएको जनाएको छ।

यसैबीच अदालतमा विचाराधीन विषयमा प्रतिनिधिसभामा भएको टिप्पणीप्रति पनि बारले आपत्ति जनाएको छ। बारले संविधानको व्यवस्था विपरीत संसदमा अभिव्यक्ति आएको भन्दै ध्यानाकर्षण गराएको हो।

बारले आज दिउँसो १ः१५ बजे नेपाल बार परिसरमा लालटिन बालेर विरोध कार्यक्रम गर्ने जनाएको छ। साथै आवश्यक परे थप आन्दोलनका कार्यक्रम पनि घोषणा गरिने चेतावनी दिएको छ।