प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ आजै गर्न सत्ता पक्षको जोड

User Image Prime TV News ७ घण्टा अगाडि
Image of प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ आजै गर्न सत्ता पक्षको जोड

काठमाडौ । संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ आजै अघि बढाउन सत्ता पक्षका सांसदहरूले जोड दिएका छन्।

मंगलबार बिहान बसेको समितिको बैठकमा विपक्षी दलका सदस्यहरूले तयारीका लागि थप समय माग गरेका थिए। तर रास्वपाका सांसदहरूले भने प्रक्रिया नरोकी आजै सुनुवाइ गर्नुपर्ने बताएका हुन्। समितिका सदस्य कवीन्द्र बुर्लाकोटीले केही उजुरी अध्ययन गरिसकेको भन्दै आजै उजुरी सुनुवाइ र कार्ययोजना प्रस्तुति गर्न सकिने बताए।

उनले आवश्यक परे पछि थप छलफल गर्न सकिने धारणा राखे। अर्का सदस्य मधु चौलागाईले समितिका सदस्यहरूले आवश्यक कागजात प्राप्त गरिसकेकोले अब प्रक्रिया अगाडि बढाउनुपर्ने बताए। सदस्य राजीव खत्रीले उजुरी सुन्दै प्रक्रिया अघि बढाउनुपर्ने धारणा राखे भने लेखजंग थापाले समितिलाई पक्ष र प्रतिपक्षको रूपमा नहेर्न आग्रह गरे। उनले आजै सुनुवाइ टुंग्याउनुपर्ने बताए।

समितिका सभापति बोध नारायण श्रेष्ठले उजुरीमाथि छलफलपछि प्रस्तावित प्रधानन्यायाधीशसँग प्रश्न गर्न सकिने बताए। उनले अन्तिम निर्णय अनुमोदन वा अस्वीकृति दुवै हुन सक्ने स्पष्ट पारे।