प्रधानन्यायाधीशको सुनुवाइ छिटो टुंग्याउन सभापति श्रेष्ठको जोड

User Image Prime TV News ७ घण्टा अगाडि
Image of प्रधानन्यायाधीशको सुनुवाइ छिटो टुंग्याउन सभापति श्रेष्ठको जोड

काठमाडौ । संसदीय सुनुवाइ समितिका सभापति वोधनारायण श्रेष्ठले प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको सुनुवाइ प्रक्रिया अनावश्यक रूपमा लम्ब्याउन नहुने बताएका छन्।

मंगलबार बसेको समितिको बैठकमा उनले सर्वोच्च अदालत लामो समयदेखि नेतृत्वविहीन रहेको भन्दै समयमै निर्णय आवश्यक भएको बताए। उनले न्यायालयमा देखिएको अन्योल अन्त्य गर्न सुनुवाइ प्रक्रियालाई अघि बढाउनुपर्ने धारणा राखे।

श्रेष्ठले बैठकको समय केही अगाडि सारिएको भए पनि यसलाई हतारोका रूपमा नबुझ्न आग्रह गरे। उनका अनुसार समितिले पहिले तय गरिएको कार्यतालिका अनुसार नै प्रक्रिया अघि बढाएको हो। समितिका केही सदस्यहरूले अध्ययनका लागि थप समय माग गरेका थिए।

त्यसबारे बोल्दै श्रेष्ठले उजुरीकर्तासँगको छलफलपछि विषय अझ स्पष्ट हुने बताए। उनले त्यसपछि प्रस्तावित प्रधानन्यायाधीशसँग प्रश्न गर्न र आवश्यक निर्णय लिन सहज हुने उल्लेख गरे। उनले सही निर्णय सही समयमा हुनुपर्नेमा जोड दिँदै संस्थालाई लामो समय अनिर्णयमा राख्न नहुने बताए।

सभापति श्रेष्ठले प्रस्तावित प्रधानन्यायाधीशको कार्ययोजनामाथि विस्तृत छलफल हुने जानकारी दिए।