सुनुवाइ समितिमा डा. शर्मा विरुद्ध उजुरीकर्ताको आपत्ति, देशमा अस्थिरता बढ्न सक्ने दिए चेतावनी
Prime TV News ५ घण्टा अगाडि 
काठमाडौ । संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माविरुद्ध उजुरीकर्ताले गम्भीर आपत्ति जनाएका छन्।
मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकमा उजुरीकर्ता टंकप्रसाद आचार्यले डा. शर्मालाई प्रधानन्यायाधीश बनाउन नहुने बताएका हुन्। सांसद प्रेमप्रसाद दंगालले सोधेको प्रश्नको जवाफ दिँदै आचार्यले देशको ठूलो रकममा अनियमितता गर्नेलाई सर्वोच्च अदालतको नेतृत्व दिन नहुने दाबी गरे।
उनले डा. शर्माले सर्वोच्च अदालत, बार र न्याय प्रशासन प्रभावकारी रूपमा सञ्चालन गर्न नसक्ने टिप्पणी गरे। आचार्यले उनलाई प्रधानन्यायाधीश बनाइए न्यायालयमा थप विवाद सिर्जना हुने र देशमा अस्थिरता बढ्न सक्ने चेतावनी दिए। उनले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कार्यकालको अनुभव दोहोरिन नहुने बताए।
संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीशमाथि परेका उजुरीमाथि छलफल जारी राखेको छ।







